- source: ekantipur
वीपी संग्राहालयमा पतिको तस्विर नियाल्दै ८१ वर्षीया नन्दकुमारी राई-बायाँ) र छोरी लक्ष्मी । तस्विरः नवराज वाग्लेकाठमाडौं, भाद्र ३१ - मुसलधारे पानी परिरहेको छ । सबै वरिपरि ओत लागेर बसिरहेका छन् । उनी भने घरीघरी भितामा झुण्ड्याएको श्रीमानको तस्बिर हेर्छिन् र पुरानो संझनामा हराएर टोलाउँछिन् ।
'उहाँ मेरो श्रीमान । बीपी बाबुका लागि ज्यान दिने...,' ८१ वर्षिया नन्दकुमारी राईले बुधबार दिउँसो कान्तिपुरसँग भनिन् । भोजपुर छिनामखु-६ बाट आएकी ती वृद्ध आमाले यति भन्न नपाउँदै सुन्दरीजलस्थित बीपी संग्रहालयमा आमन्त्रण गरिएका काँगेसीहरुको वरिपरि भिड लाग्यो ।
उनी त जननायक विश्वेश्वरप्रसाद कोइरालासँगै पञ्चायतकालमा सुन्दरीजल जेलमा परेका दिवानसिंह राईकी श्रीमती हुन् । दिवानसिंहको २०२९ भदौमा मोरङ्ग बेलबारीको काकुमझोरामा हत्या भएको थियो ।
'यो ठाउँ जेल हुँदा एक पटक श्रीमानलाई भेटन आएको थिएँ,' उनले संझदै सुस्तरी भनिन्, 'संग्रहालय बनेपछि पहिलो पटक आएको हो । श्रीमान जेलमा हुँदा छोराछोरीलाई एक्लै हुर्काए बढाएको दिन संझिदा भने दुःख लाग्छ ।'
बीपीका फोटै फोटाले भरिएको संग्रहालयको कोठाको कुर्चिमा बसेकी नन्दकुमारीले वरिपरि बसेकालाई आशिष दिंदै भनिन्- 'हामीलाई जे भएपनि बाबुहरुलाई राम्रो होस् ।'
नन्दकुमारीले यतिबेला बीपीकी श्रीमती सुशिलालाई निकै सम्झिइन् । 'सुशीलासँग विराटनगर र काठमाडौंमा भेट हुन्थ्यो,' उनले भनिन्- 'निकै हिम्मत दिन्थिन् ।'
उनलाई कांग्रेस महासमिति सदस्य जेठी छोरी लक्ष्मी र कान्छी छोरी संगीताले सहारा दिएर संग्रहालयसम्म ल्याएकी थिइन् । 'सुकुम्बासी समस्या परेको बेला तराईतिर कार्यकर्ता भेटघाट गर्न बुवा जानु भएको थियो' जेठी छोरी लक्ष्मीले भनिन्- 'त्यतिबेलै उनको हत्या भयो ।' राई परिवारले पानीमा रुज्दै सबै सालिकहरुमा माल्यार्पण गरेका थिए ।
९७ औं बीपी जयन्ती सप्ताह मनाउँदै बीपी संग्रहालय समितिले बुधबार बीपीसँग त्यहाँ बन्दि जीवन बिताएका दिवानसिंह राई, मुस्ताङका योगेन्द्रमान शेरचन र जनकपुरका रामनारायण मिश्रको अर्धकदको सालिकको शिलान्यास कार्यक्रम राखेको थियो । संग्रहालयका खोलिएको पाँच वर्षपछि २०६५ भदौ २४ मा विश्वेश् रप्रसाद ो र कात्तिक २४ मा गणेशमानको सालिक अनावरण भइसकेको छ ।
समितिले यो अवसरमा ती प्रजातान्त्रिक योद्धाका परिवार र कांग्रेस महाधिवेशनमा सहभागी हुन आएका ३ हजार ८८ प्रतिनिधिलाई बीपीको चिन्तन गर्न आमन्त्रण गरेको थियो ।
अरु बेला सुनसान रहने संग्रहालय बुधबार कांग्रेसका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, कार्यकर्ता र समर्थकले भरिएको थियो । यो हुलबीच हातमा छाता बोकेर संग्रहालयमा ठमठमती हिंडिरहेका थिए रुकुम खलंगा-३ का ६७ वषर्ीय कृष्णप्रसाद गौतम ।
उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हन् । 'बीपीको समाजवाद, संसदीय प्रणाली र मेलमिलापको नीती त धरापमा परेको छ,' उनले भने- 'यसमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रहार भइरहेको छ, यसलाई बचाउनु पर्छ ।' उनले आफूलाई रुकुमबासीले 'बहुदल बा' भनेर चिन्ने गरेको बताए । बीपीसँग नीकै नजिक रहेका कृष्णप्रसादले उनका केही फोटा र वक्तव्यलाई सँगालेर राखेका छन् ।
संग्रहालयमा तस्बिरहरु हेर्दै उनले बीपीसँगको स्मरण क्षण सम्झे । जनमत संग्रहको परिणामपछि पञ्चायतमा भाग लिने/नलिने बारेको अन्तिम बैठक नेपालगंजमा भएको थियो । कृष्णप्रसाद त्यतिबेला रुकुम कांग्रेसका सचिव थिए । 'मैंले बीपीका लागि भएपनि पञ्चायतलाई बहिष्कार गर्नुपर्नेमा अडान लिए,' कृष्णप्रसादले बीपीले त्यतिबेला भनेको संझना सुनाए- 'त्यतिबेला बीपीले मलाई बोलाएर तिमी मेरो लुकेको साथी रहेछौं भने, उभेर संबोधन गर्दा पनि उनले यस्ता इमान्दार साथी पनि छ्न् भनेर प्रशंसा गरे ।'
बिरामी हुदा अन्तिम पटक काठमाडौंमा बीपीलाई भेटेका कृष्णप्रसादले उनीसंग सोधेका केही प्रश्नको जवाफ भने पाएनन्् । उनले धनगढीमा भेट्दा बीपीलाई 'बहुदलको बिरोध किन ?, बहुदलको पक्षमा खसेको २० लाख मतलाई कसरी सुरक्षित पार्ने ?' भनेर प्रश्न गरेका थिए । लिखित रुपमा उत्तर लेखेर कृष्णप्रसादको ठेगानामा पठाउने बीपीले बाचा गरेका थिए ।
'बहुदल प्रजातन्त्रको अर्को नाम हो, जनताले उपभोग गर्ने बस्तुको समान बितरण र मुल्य होस,' बीपीले त्यतिबेला भनेको संझदै उनले भने,' बीपीले नेपालगञ्जमा पाँच रुपैयामा पाउने सामग्रीको मुल्य रुकुमा पनि त्यति नै हुनुपर्नेमा जोड दिन्थे ।' 'मैंले ' बीपी बाबुलाई कुन कानून अन्तगर्त थुनेको भनेर प्रश्न गर्दा उनले तानाशाहलाई के को कानून ?, यो प्रश्न पञ्चायती व्यवस्थाको व्याख्या गर्ने वकिलहरुलाई सोध्नुस भनी जवाफ फर्काएका थिए,' कृष्णप्रसादले भने ।
बीपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले काग्रेसले बाटो बिराउन थालेकोले यो महत्वपूर्ण बेलामा बीपीको चिन्तन गराएर सही बाटोमा ल्याउन महाधिवेशन प्रतिनिधिहरुलाई आमन्त्रण गरेको बताए । 'यहाँबाट उनीहरु केही शक्ति, ज्ञान र ऊर्जा लिएर जाने विश्वास गरेको छु,' पोखरेलले कान्तिपुरसंग भने- 'यो थलो बीपीको समाजबादी नीती र लोकतान्त्रिक साधनाको केन्द्र हो, सुन्दरीजल जेल र काग्रेसलाई पृथक गर्न सकिन्न ।'
उनका अनुसार, बीपी र अन्य प्रजातान्त्रिक योद्धा बसेको यस स्थललाई राजा, राणा र सेनाले कसरी भत्काएर लोकतन्त्रको चिनोलाई मास्न खोजेको समेत संझना समेत यसले गराउँछ । 'यो थलो लोकतन्त्रको बिउ हो,' उनले भने- 'काठमाडौको निर्जन गाउमा ल्याएर बीपी बाबु र उनका मित्रहरुलाई बन्दी बनाइएको यो थलोले काग्रेस जन्मनुको इतिहासलाई समेत संझाउँछ ।' बीपीको समाजबादी नीती र लोकतान्त्रि साधनाको यस केन्द्रलाई काग्रेसीहरुले बिर्सेर धर नपाउने उनले बताए ।
सुशील पनि पुगे संग्रहालय
काठमाडौं- कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले बुधबार संग्रहालयमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक योद्धाहरु जनकपुरका रामनारायण मिश्र, मुस्ताङका योगेन्द्रमान शेरचन र भोजपुरका दिवानसिंह राईको अर्धकदको सालिकको शिलान्यास गरे ।
उनले यस अवसरमा 'बीपी संग्रहालय सुन्दरी जल ( भाग १ ) नामक पुस्तिकाको लोकार्पण गरेका थिए । कोइरालाले उक्त समारोहमा यस संग्रहालयको संरक्षण र सम्वर्द्धन कार्यमा लागेको सबैको योगदानको पार्टिले मूल्यांकन गर्ने बताए । विपी बारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: २०६७ आश्विन १ १२:२२
source: www.ekantipur.com ...
responses to ( श्रीमान् (दिवानसिंह राई)सम्झदै संग्रहालय )